सिम्तामा खिमराज सोनीसहित विभिन्न व्यक्तित्व राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश
सुर्खेत । सिम्ता गाउँपालिकामा आगामी २०८४ सालको स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै राजनीतिक गतिविधि तीव्र बनेको छ। यसैक्रममा सिम्ता गाउँपालिकाको अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्दै गाउँ–गाउँमा अभियान सञ्चालन गर्दै आउनुभएका खिमराज सोनीसहित विभिन्न व्यक्तित्व राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्नुभएको छ।
सोनीसँगै चन्द्रमान सुनार, प्रकाश विक, अजित विक, सन्तोष विक र ज्योति विश्वकर्मा लगायतका व्यक्तिहरू पनि रास्वपामा प्रवेश गर्नुभएको हो।
पार्टी प्रवेशसँगै उहाँहरूले सिम्ता गाउँपालिकाको समग्र विकास, समृद्धि र जनताको सेवाका विषयलाई प्राथमिकतामा राखेर राजनीतिक गतिविधिलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
स्थानीय तहमा विकासका अवसर विस्तार गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार तथा जनताका दैनिक समस्यालाई प्राथमिकतामा राखेर काम गर्ने उद्देश्यसहित नयाँ राजनीतिक यात्राको सुरुवात गरिएको बताइएको छ।
आगामी २०८४ सालको स्थानीय निर्वाचनलाई लक्षित गर्दै रास्वपाले स्थानीय तहमा संगठन विस्तार तथा जनस्तरमा राजनीतिक गतिविधि बढाइरहेको अवस्थामा सिम्तामा भएको यो पार्टी प्रवेशलाई स्थानीय राजनीतिमा अर्थपूर्ण रूपमा हेरिएको छ।
खिमराज सोनीले सिम्ताको विकास र जनताको हितलाई केन्द्रमा राखेर आफूले राजनीतिक यात्रा अघि बढाउने बताउँदै आगामी प्राइमरी इलेक्सनमार्फत योग्य र सक्षम उम्मेदवार छनोट हुने प्रक्रियामा आफू पनि सहभागी हुने जनाउनुभएको छ।
स्थानीय जनताको आवश्यकता र अपेक्षालाई नजिकबाट बुझ्दै पारदर्शी, जवाफदेही र परिणाममुखी ढंगले अघि बढ्ने उहाँहरूको प्रतिबद्धता रहेको छ।
